१९ महिनापछि फेरि ओली प्रधानमन्त्री

Breking News News

१९ महिनापछि फेरि ओली प्रधानमन्त्री –
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीबाट राजीनामा दिएको १९ महिनापछि फेरि प्रधानमन्त्री नियुक्त भएका छन्। २०७३ साल साउन ९ गते व्यवस्थापिका संसदमा सम्बोधन गर्दै प्रधानमन्त्रीको पदबाट राजीनामा दिएका ओली १८ महिना २४ दिनमै फेरि प्रधानमन्त्री बनेका हुन्।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ प्रधानमन्त्रीको रुपमा नियुक्त गरेकी छन्।

ओलीको जन्म २००८ फागुन ११ गते इवा २, तेह्रथुममा पिता मोहनप्रसाद ओली र माता स्वर्गीय मधु ओलीको कोखबाट भएको हो। तेह्रथुम इवाको प्रणामी उच्च माध्यमिक विद्यालय (तत्कालीन प्रणामी प्रावि) बाट शिक्षा सुरु गरेका ओलीले औपचारिक रुपमा एसएसलसीसम्मको मात्र अध्यायन गरेका छन्।

तेह्रथुमबाट ओली परिवार २०२० सालमा बसाईं सरेर झापा झरेको थियो। डेढ वर्षकै उमेरमा आमा गुमाएका ओलीको बाल्यकाल कष्टपूर्ण बित्यो। २०२३ सालदेखि राजनीतिमा प्रवेश गरेका ओलीले २०२६ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएर भूमिगत भएका थिए।

कम्युनिस्ट पार्टीको सदस्यता लिएकै वर्ष ओली पञ्चायत विरोधी आन्दोलनमा सहभागी भएको नाममा पक्राउ परे। उनले निरन्तर १४ वर्ष जेल जीवन बिताए।

नेता ओली २०२८ सालमा झापा आन्दोलन कमिटीको प्रमुख भए। २०४८, २०५१ र २०५६ सालको आम निर्वाचनमा झापा ६ बाट निर्वाचित ओली २०६४ सालको संविधानसभा चुनावमा झापा ७ बाट पराजित भए। सोही क्षेत्रबाट ओलीले २०७० सालको दोस्रो संविधानसभा चुनावमा विजयी हासिल गरे।

त्यसपछि भने ओली नेपालको राष्ट्रिय राजनीतिमा चर्चामा रहे। लामो राजनीतिक यात्राका क्रममा ओलीले गृहमन्त्री, परराष्ट्रमन्त्री, उपप्रधानमन्त्री हुँदै दुई पटक प्रधानमन्त्री बनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *