सेयरको अनलाइन कारोबार कसरी हुन्छ? अवश्य जान्नुहोस ।

Market शेयर बजार

निरन्तर घट्दो बजारमा लगानीकर्ताको एउटा आस अनलाइन कारोबारको सुरुवात भए बजारले केही राहत पाउँथ्यो भन्ने छ । धेरैमा के हतारो पनि देखिन्छ भने सेयरको किनबेच आफ्नै हातले गर्न पाए त्यसको मजा अर्कै हुने थियो । ब्रोकरकहाँ धाउनु पनि नपर्ने, आफूले चाहेको मूल्यमा इन्टरनेटको पहुँच भएको जुनसुकै ठाउँबाट पनि सजिलै कारोबार गर्न सकिने, चाहे त्यो विदेशमा बस्दा होस् वा स्वदेशमा बस्दा होस् । वास्तवमा अनलाइन कारोबारको प्रक्रिया र प्रविधि के हो र कस्तो हुने ? भन्नेबारेमा लगानीकर्ता, नियामक र यसको सञ्चालक नेपाल स्टक एक्सचेन्ज स्पष्ट हुन आवश्यक छ ।

१.) अनलाइन कारोबारमा सेयरको किनबेच लगानीकर्ता आफैले गर्न सक्छन्, जसमा ब्रोकरलाई यो किनिदे वा यो बेचिदे भनेर लगानीकर्ताले आदेश दिइरहनु पर्दैन । आफ्नो मोबाइल वा कम्प्युटरबाट सेयरको किनबेच खाता खोलेको ब्रोकरको वेबसाइटमा गएर आफैं गर्न सकिन्छ । तर, यसको अर्थ अनलाइन कारोबारमा ब्रोकर नै नचाहिने भन्नेचाहिँ होइन । अनलाइन कारोबारका लागि कारोबार खाता खोल्न र कारोबार गर्न युजर नेम र पासवर्ड लिनका लागि ब्रोकरकहाँ पुग्नैपर्ने हुन्छ । प्रविधिलाई अधिकतम प्रयोग गर्ने हो भने खाता खोल्ने काम पनि अनलाइनमार्फत नै गर्न सकिन्छ । अनलाइन कारोबारका लागि ब्रोकरकहाँ खाता खोलेपछि कारोबारमा आउने हरेक समस्याका लागि सोही ब्रोकरकहाँ सम्पर्क गर्नुपर्ने हुन्छ । सबै जिम्मेवारी ब्रोकरको हुन्छ ।

२.) अनलाइन कारोबार गर्न लगानीकर्ताले कारोबार खातामा पहिला नै पैसा जम्मा गरेको हुनुपर्छ । अहिलेजस्तो ब्रोकरलाई आज किन्न आदेश दिएर पर्सिसम्म पैसा बुझाए हुने जस्तो हुँदैन । खातामा भएको पैसाले पुग्नेजति सेयर किन्न सकिन्छ । यदि पैसाले नपुग्ने गरी किन्न खोजिए स्टमले पैसा नपुग्ने संकेत दिन्छ । यस कारोबारमा अहिलेजस्तो ग्राहकले समयमा पैसा नल्याएर ब्रोकरले फोन गर्नुपर्ने, आउट भएर बस्नुपर्ने भन्ने हुँदैन । यसको अर्को फाइदा ब्रोकरको कार्यालय सञ्चालन लागत पनि केही घट्न जान्छ ।

३.) सेयर बिक्री गर्दा लगानीकर्ताले आफ्नो खातामा भएको कम्पनीको सेयर बिक्री गर्न सक्छन् । यो प्रणालीमा अहिले तपाईंसँग कतिवटा कम्पनीको कति कित्ता सेयर छ, कुल कति रकम लगानी गर्नुभएको थियो, अहिले कुल बजार मूल्य कति छ, नाफा वा घाटा कति छ सबै देखिन्छ र तत्कालको बजारको प्रत्यक्ष (लाइभ) मूल्यसँगै नाफा-नोक्सान पनि परिवर्तन हुँदै जान्छ । यो प्रणाली लगानीकर्ताले लिइसकेको कुल नाफा
(रियलाइज्ड प्रोफिट), नलिएको (अनरियलाइज्ड) तर अहिलेको मूल्यअनुसार देखिएको नाफा वा नोक्सान, हरेक कारोबारको नाफा-नोक्सान, विगत हरेक वर्षको अलग-अलग नाफा नोक्सान देखिन सक्ने गरी बनाइनुपर्छ । आशा गरौं, सोहीअनुसार नेप्सेले यसको काम गरिरहेको छ । यदि नेप्सेले यस प्रकारको प्रणाली निर्माण गर्दैन भने यो हरेक ब्रोकरले अलग-अलग तरिकाबाट आफ्ना ग्राहकका लागि बनाउन सक्छन् । अन्य देशमा कारोबारबाहेकका सबै सुविधा ब्रोकरले आफ्नो हिसाबले लगानीकर्तालाई दिएको पाइन्छ । त्यसमा कसले कति बढी र सरल सुविधा लगानीकर्तालाई दिने भन्नेमा प्रतिस्पर्धा हुन्छ ।

४.) यसै गरी सेयर किन्न कुनै कम्पनीको खोजी गर्दा सो कम्पनीको तत्काल किन्न चाहेको मूल्य, बेच्न चाहेको मूल्य, ५२ हप्ताको अधिकतम र न्यूनतम मूल्य, आजको कारोबारको अधिकतम र न्यूनतम मूल्य, आज कारोबार भएको कुल सेयर संख्या, लाभांश प्रतिफल, पछिल्लो प्रतिसेयर आम्दानी, चार्ट (विविध समयको हेर्न मिल्ने गरी), सूचना आदि यसको प्रणालीमा हुनुपर्छ, जसले गर्दा लगानीकर्ताले सु-सूचित निर्णय गर्न सक्छन्
। अहिलेजस्तो मार्केट डेप्थ र खरिद-बिक्रीको बटन मात्र दिएर अनलाइन कारोबारको उद्देश्य पूरा हुन सक्दैन । यसमा पनि नेप्सेको फ्टवेयरको विकल्पमा ब्रोकरले आफ्नो हिसाबले प्रणालीको विकास गर्न सक्छन् ।

५.) अनलाइन कारोबारमा कारोबार कमिसन सबैभन्दा महत्वपूर्ण कुरा हो, जसले लगानीकर्ताको कारोबार लागतलाई पनि निर्धारण गर्छ । अनलाइन कारोबार सुरु हुनुअघि नै धितोपत्र बोर्डले हालको कमिसनमा पुनर्विचार गरी कमिसनको नयाँ तरिका अवलम्बन गर्नु आवश्यक छ । अब कमिसनलाई कारोबार रकमका आधारमा नभई प्रतिकारोबारमा आधारित बनाइनुपर्र्छ । यसको अर्थ एउटा कारोबार गरेको यति रुपैयाँ भन्ने हुनुपर्छ जस्तो ५० रुपैयाँ । उक्त कारोबार चाहे एक कित्ताको होस् वा १० कित्ताको होस् वा १० लाख कित्ताको । कारोबार रकमका आधारमा लिइने कमिसन तत्काल हटाइनुपर्छ; अर्थात् यसलाई लगानीकर्ताले आफैं गर्ने र ब्रोकरलाई आदेश दिएर गर्नेमा छुट्याउन पनि सकिन्छ । ब्रोकरले गरिदिने कारोबारमा रकममा आधारित र लगानीकर्ताले आफैं गर्नेमा प्रतिकारोबारमा आधारित कमिसन पनि बनाउन सकिन्छ । तर, अहिलेसम्म धितोपत्र बोर्डले यस विषयमा छलफल अगाडि बढाएको देखिँदैन ।

कसैले १० हजार कित्ता सेयर किन्न बसेमा सोही दिन पूरै कित्ता एकैपटक आए एउटा कमिसन, एउटा कारोबारमा ४ हजार र अर्को रोबारबाट ६ हजार गरी १० हजार कित्ता दुईवटा (वा जतिवटा) कारोबारबाट आए पनि एउटै कारोबार सरह कमिसन लाग्ने व्यवस्था गरिनुपर्छ, तर १० हजारमध्ये आज ३ हजार कित्ता मात्रै आयो र आदेश हटाइएन भने अर्को दिन सोही कारोबार आदेश निरन्तर भएर बाँकी ७ हजार कित्ता खरिद
भए अर्को कमिसन लाग्ने व्यवस्था गरिनुपर्छ । किनभने यो फरक दिनमा भएको कारोबार भयो । कारोबार कमिसन प्रतिकारोबारका आधारमा लाग्ने व्यवस्थाले ब्रोकरले आफ्नो सेवा-सुविधामा सुधार गर्ने सम्भावना रहन्छ, प्रतिस्पर्धा बढ्छ र कारोबार लागत घट्न गई कारोबार संख्या र तरलतामा सुधार हुन जान्छ । सेयर किनिसकेपछि लगानीकर्ताको खातामा किनेको मूल्य र कमिसन जोडिएर पूरा लागत देखिने बनाइनुपर्छ । यसैगरी कुल लागतलाई किनिएको सेयर संख्याले भाग गरी औसत प्रतिसेयर लागत पनि देखिने प्रणालीको विकास गरिनुपर्छ, जसले गर्दा कति मूल्यभन्दा माथि गएमा फाइदा हुन्छ भन्ने निर्णय गर्न लगानीकर्तालाई सजिलो होस् । यस्तै नाफा बुक गर्न वा घाटा सीमित गर्न पनि सजिलो होस् ।

कमिसनकै सवालमा अब एउटै कमिसन निर्धारण गरिनुपर्छ, जस्तो धितोपत्र बोर्ड शुल्क, नामसारी शुल्क । यी विविध शुल्क लिस्ट नबनाई प्रतिकारोबार ५० रुपैयाँ भनिएमा यस भित्रबाट बोर्डले कति लाने, नेप्सेले कति लाने, ब्रोकरले कति पाउने, नामसारी शुल्क कति लाग्ने भन्ने त्यो पर्दा पछाडिको कुरा भयो, यस विषयमा कारोबारकर्ता वा लगानीकर्तालाई धेरै चासो नहुने व्यवस्था गरिनुपर्छ । यसले लगानीकर्तालाई एउटा शुल्क तिरे पुग्छ भन्ने हुन्छ भने शुल्कको लामो सूचीले पार्ने मानसिक दबाब पनि मुक्त हुन्छ ।

६.) सेयर कारोबार गर्न कारोबार खातामा पैसा जम्मा गर्ने कुरा अर्को चुनौतीपूर्ण कुरा हो । फरक-फरक लगानीकर्ताको बैंक खाता फरक-फरक बैंकमा हुन सक्छ । जुनसुकै बैंक वा वित्तीय संस्थाको खाता भए पनि सजिलै सेयर कारोबार खातामा पैसा सार्न मिल्ने प्रणालीको विकास गरिनुपर्छ, जसमा सम्भव भएसम्म कुनै पनि लागत लाग्नु हुँदैन । अहिलेजस्तो क्लियरिङ बैंकमा खाता भए सेयर किनबेच गर्दा पैसा राख्न र झिक्न
सजिलो हुन्छ वा चेक क्लियरिङ शुल्क लाग्दैन भन्ने अत्याचारबाट मुक्त हुनुपर्छ । यसमा पनि क्लियरिङको काम कुन बैंकले गर्छ भन्ने सवालमा लगानीकर्तालाई चासो नहुने अवस्थाको निर्माण गरिनुपर्छ । यदि बैंकले ब्रोकर लाइसेन्स लिने र सोहीमार्फत लगानीकर्ताले कारोबार गर्ने हो भने सोही बैंकमा भएको आफ्नो खाताबाट कारोबार खातामा पैसा सारेर किन्न सक्ने हुन्थ्यो । बेचेपछि बैंक खातामा सार्न पनि सजिलो हुन्थ्यो । यो
नभए पनि लगानीकर्तालाई कारोबार खातामा पैसा सार्ने र झिक्ने समस्याबाट मुक्त बनाइनुपर्छ । जसका लागि बोर्ड, नेप्से र नेपाल क्लियरिङ हाउसबीच छलफल हुन आवश्यक छ ।

७.) यो प्रणालीसँगै अब वार्षिक रूपमा पुँजीगत लाभकर तिर्ने व्यवस्था हुनुपर्छ, जसमा कारोबारमा भएको घाटालाई समायोजन गर्ने व्यवस्था पनि गर्नुपर्छ । यसका लागि नेप्से र बोर्डले अर्थमन्त्रालयसँग सहकार्य गर्नु आवश्यक छ ।

शेयरबजार विश्लेषक रबिन्द्र भट्टराई
स्रोत : कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *